जेन्जी आन्दोलनका क्रममा फरार रहेका चोरी मुद्दाका कैदी पक्राउ
जेन्जी आन्दोलनका क्रममा कारागारबाट भागेका चोरी मुद्दाका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति मकवानपुरको बागमती गाउँपालिका-५ का बासिन्दा २५ वर्षीय शिशिर परियार हुन्।
प्रहरीका अनुसार परियारविरुद्ध मोटरसाइकल चोरी मुद्दामा मकवानपुर जिल्ला अदालतमा मुद्दा नं. ०८१-ऋ१-०३०६ अन्तर्गत सुरुमा रु. १ लाख धरौटी माग गरिएको थियो। धरौटी बुझाउन नसकेपछि उनी कारागार कार्यालय भीमफेदी पुर्याइएका थिए।
२०८२ पुस १४ गते अदालतले अन्तिम फैसला गर्दै उनलाई १ वर्ष ३ महिना कैद सजाय तोकेको थियो। सजाय भुक्तान गर्दै गरेका बेला जेन्जी आन्दोलनताका उनी कारागारबाट भागेर फरार भएका थिए।
फरार रहेका प्रतिवादीको खोजी तीव्र बनाएको प्रहरीले विशेष सूचनाका भरमा हेटौँडा बसपार्क क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउपछि बाँकी सजाय भुक्तानका लागि उनलाई पुनः कारागार पठाउने प्रक्रिया थालिएको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार आन्दोलनताका फरार भएका व्यक्तिहरूको खोजतलास निरन्तर जारी छ। कानुनी कारबाहीबाट जोगिन लुकीछिपी बसेकाहरूलाई एक-एक गर्दै पक्राउ गर्ने अभियान थप प्रभावकारी बनाइएको उनले जनाए।
अदालतबाट सजाय तोकिएका तर हाल फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।