प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा
0 MIN READ
नेपालको चर्चित रेष्टुरेन्ट ब्रान्ड बाजेको सेकुवा लिमिटेडले प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी थालेको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि २० प्रतिशत सेयर आईपीओमार्फत जारी गर्ने प्रस्ताव अघि सारेको छ, साथै संस्थापक सेयरधनीतर्फ पनि प्रिमियम मूल्यमा सेयर निष्कासनबारे छलफल भइरहेको जनाएको छ।
यससम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले साउन १ गते विशेष साधारण सभा बोलाएको छ। काठमाडौंको बत्तीसपुतलीस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे हुने यस सभामार्फत आईपीओसम्बन्धी सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई सुम्पिने एजेन्डा पनि समावेश छ।
गत असोज २ गते सम्पन्न वार्षिक साधारण सभाले नै आईपीओसम्बन्धी प्रस्ताव पारित गरिसकेको थियो। यसैअनुरूप प्रक्रिया अगाडि बढाउँदै कम्पनीले क्रेडिट रेटिङसमेत गराइसकेको छ। केयर रेटिङ नेपालले कम्पनीलाई मध्यम स्तरको सुरक्षा मानिने “केयर एनपी ट्रिपल बी” इस्यूअर रेटिङ प्रदान गरेको छ।
कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेकोमा जारी पूँजी ७५ करोड रुपैयाँ छ। संस्थापकतर्फ ६० करोड रुपैयाँ चुक्ता पूँजी कायम भइसकेको अवस्थामा सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने योजना छ।
४९ वर्षअघि सिनामंगल एयरपोर्ट क्षेत्रबाट सुरु भएको बाजेको सेकुवाले हाल नेपाल र विदेश गरी जम्मा २९ शाखा सञ्चालनमा ल्याइसकेको छ। परम्परागत नेपाली परिकार तथा सेकुवाका लागि परिचित यस ब्रान्डले २०० भन्दा बढी परिकार ग्राहकसमक्ष उपलब्ध गराउँदै आएको छ। कम्पनी सुरुमा २०६६ साल कात्तिक २३ गते प्राइभेट लिमिटेडका रूपमा दर्ता भएको थियो, जुन पछि २०८२ असार २५ गते पब्लिक लिमिटेडमा रूपान्तरण भयो।
आर्थिक दृष्टिकोणले पनि कम्पनीले उल्लेख्य सुधार देखाएको छ। आर्थिक वर्ष २०७८/७९ देखि २०८१/८२ सम्म कम्पनीको सञ्चालन आम्दानी करिब ३१ प्रतिशतले बढेर ३८ करोड ८० लाख रुपैयाँ पुगेको छ। आउटलेट र ब्रान्ड विस्तार तथा रेष्टुरेन्ट सेवाप्रतिको बढ्दो माग नै आम्दानी वृद्धिको मुख्य कारण रहेको कम्पनीको दाबी छ।