दार्चुलामा झोलुङ्गे पुल उद्घाटनपछि हर्क साम्पाङ : महाकालीमा अर्को पुल बनाउन भारतको लिखित सहमति आवश्यक

harka-sampang-darchula-bridge-mahakali-india-consent-with-space

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राई दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सकिएको झोलुङ्गे पुल उद्घाटन गरेर काठमाडौं फर्किएका छन्।

सञ्चारकर्मीसँगको भलाकुसारीमा उनले सो पुल स्थानीयवासीको लामो समयदेखिको माग अनुसार बनाइएको बताउँदै यसको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए।

दुम्लिङ क्षेत्र अझै पनि सडक र सञ्चार सुविधाका हिसाबले विकट रहेको बताउँदै उनले नेपाली सेनाले सडक स्तरोन्नतिमा काम गरिरहेको र दूरसञ्चार सेवा विस्तारका प्रयास पनि जारी रहेको जानकारी दिए।

महाकाली नदी क्षेत्रमा थप पुल बनाउन भारतको लिखित सहमति चाहिने भन्दै उनले यसबारे परराष्ट्र मन्त्रालयलाई पटक-पटक आग्रह गरिसकेको बताए। भारतबाट लिखित स्वीकृति नआएसम्म त्यहाँ पुल निर्माण सम्भव नहुने उनको भनाइ थियो।

तिङ्कर क्षेत्रमा नेपालीतर्फ सडक नहुँदा स्थानीयवासी भारतीय भूभाग हुँदै आवतजावत गर्न बाध्य रहेको बताउँदै उनले नेपाली भूभागभित्रै सडक निर्माणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

सरकारको समग्र कामकारबाहीबारे उनले प्रयास त भइरहेको तर त्यसको नतिजा जनताले अझै महसुस गर्न नसकेको टिप्पणी गरे। महँगी नियन्त्रणमा सरकारले थप प्रभावकारी ढंगले काम गर्नुपर्ने उनको भनाइ छ।

प्रस्तावित साइबर कानुन संशोधनबारे प्रतिक्रिया दिँदै उनले अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गर्ने खालको कानुन लोकतन्त्रको भावनाविपरीत हुने बताए। तथ्य र प्रमाणमा आधारित भई विरोध जनाउन पाउनु लोकतान्त्रिक अधिकार भएको र यसलाई कुण्ठित गर्ने कानुन उपयुक्त नहुने उनले जोड दिए।

पुल निर्माणको श्रेयको प्रश्नमा उनले असल कामको जस र कमजोर कामको जिम्मेवारी दुवै साझा रूपमा लिनुपर्ने बताउँदै विकास निर्माण सामूहिक प्रयासबाटै सम्भव हुने धारणा राखे।