व्हाट्सएपमा फोन नम्बरबिनै कुराकानी गर्न सकिने ‘युजरनेम’ सुविधा आउँदै
काठमाडौं । मेटाको स्वामित्वमा रहेको व्हाट्सएपले प्रयोगकर्तालाई फोन नम्बर उजागर नगरी सम्पर्क गर्न सकिने नयाँ युजरनेम सुविधा ल्याउने तयारी गर्दै यसको अग्रिम आरक्षण प्रक्रिया थालेको छ।
कम्पनीका अनुसार यो सुविधा आगामी महिनाहरूमा क्रमशः विश्वभरका प्रयोगकर्तासम्म पुग्नेछ। हाल प्रयोगकर्ताले आफूलाई मनपर्ने युजरनेम अग्रिम रूपमा सुरक्षित गर्न सक्नेछन्, जुन सुविधा पूर्ण रूपमा सक्रिय भएपछि प्रयोगमा आउनेछ।
व्हाट्सएपले आफ्नो आधिकारिक ब्लगमार्फत यो अपडेट प्रयोगकर्ताको गोपनीयता सुदृढ गर्ने उद्देश्यले ल्याइएको जनाएको छ। विशेष गरी अपरिचित व्यक्ति, ठूला समूह च्याट तथा व्यवसायिक संवादमा अबदेखि फोन नम्बर देखिने छैन।
कम्पनीले भनेको छ, नयाँ व्यक्तिसँग सम्पर्क हुँदा फोन नम्बर साझा गर्नु असहज महसुस हुन सक्ने भएकाले अब केवल कुराकानीका लागि फोन नम्बर अनिवार्य रहनेछैन।
सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले ‘युजरनेम कि’ नामक थप सुरक्षा प्रणाली पनि ल्याउने भएको छ, जसअन्तर्गत कसैलाई सम्पर्क गर्न युजरनेमसँगै थप कोड पनि आवश्यक पर्नेछ।
यसैगरी युजरनेम प्रणालीमा सार्वजनिक डाइरेक्टरी वा सर्च सुझाव उपलब्ध नहुने भएकाले अनावश्यक सन्देश प्राप्त हुने जोखिम कम हुने कम्पनीको दाबी छ। कम्पनीका अनुसार अक्षर, संख्या, डट र अन्डरस्कोर प्रयोग गरी बढीमा ३५ अक्षरसम्मको युजरनेम राख्न सकिनेछ, र प्रयोगकर्ताले चाहेको बेला यसलाई परिवर्तन वा हटाउन पनि सक्नेछन्।
व्यवसाय तथा क्रिएटरहरूले भने मेटा समूहअन्तर्गतका इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्ममा प्रयोग हुने एउटै युजरनेम व्हाट्सएपमा पनि सुरक्षित गर्न सक्ने सुविधा पाउनेछन्। यो सुविधा क्रमशः विस्तार गरिने र पूर्ण रूपमा उपलब्ध भएपछि प्रयोगकर्तालाई इन–एप सूचनामार्फत जानकारी दिइने कम्पनीले जनाएको छ। (एएनआई)