सञ्चारमन्त्री तिमिल्सिना र अष्ट्रेलियाली राजदूतबीच शिष्टाचार भेट, द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि नियुक्त अष्ट्रेलियाली राजदूत साइमन अन्स्टलेले बुधबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्। यस क्रममा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, सञ्चार क्षेत्रको सशक्तीकरण, डिजिटल रूपान्तरण तथा संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन जस्ता विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।


राजदूत अन्स्टलेले दुई देशबीच लामो समयदेखि रहेको विकास साझेदारीको स्मरण गर्दै भविष्यमा सहकार्य विस्तार गर्न सकिने सम्भावित क्षेत्रहरूप्रति चासो देखाए। उनले अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको मूल आधारका रूपमा उल्लेख गर्दै बढ्दो गलत सूचना र दुष्प्रचारको समस्या समाधानका लागि सामूहिक प्रयासको खाँचो औंल्याए। साथै संघीयता कार्यान्वयनमा अष्ट्रेलियाबाट निरन्तर प्राविधिक तथा संस्थागत सहयोग जारी रहने प्रतिबद्धता पनि व्यक्त गरे।
मन्त्री तिमिल्सिनाले अष्ट्रेलियाबाट प्राप्त विकास सहायताप्रति कृतज्ञता व्यक्त गर्दै नेपाली विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम विस्तार गरिनुपर्ने आग्रह गरे। उनले हुलाक सेवाको आधुनिकीकरण सरकारको प्राथमिकतामा रहेको र यसमा अष्ट्रेलियाको अनुभवबाट लाभ लिन चाहेको बताए। डिजिटल नेपाल निर्माणका लागि सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउने, पूर्वाधार विस्तार गर्ने लगायतका पक्षमा पनि सहयोग अपेक्षा गरे।
मन्त्रीले पत्रकारिता जिम्मेवार, तथ्यपरक र व्यावसायिक हुनुपर्नेमा जोड दिँदै पत्रकारको क्षमता विकास, डिजिटल पत्रकारिता र तथ्य–परीक्षण सीपमा सरकारको ध्यान केन्द्रित रहेको जानकारी दिए। भेटमा शिक्षा, रोजगारी, पर्यटन र सांस्कृतिक आदानप्रदानमार्फत बढ्दै गएको जनस्तरीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत छलफल भयो।