July 1, 2026 0 MIN READ

रास्वपाको अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त

0 MIN READ
rsp-appoints-lekhnath-poudel-to-disciplinary-commission

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्रको अनुशासन आयोगको जिम्मेवारी लेखनाथ पौडेललाई दिएको छ।

बुधबार सम्पन्न केन्द्रीय समितिको बैठकमा यो निर्णय भएको हो। पार्टीको विधानअनुसार निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग खाली राख्न नमिल्ने व्यवस्था रहेकाले बैठकले निर्वाचन आयोग र लेखा आयोगको जिम्मेवारी पहिलेकै टोलीलाई निरन्तरता दिँदै अनुशासन आयोगमा पौडेललाई नियुक्त गरेको छ।

सहमहामन्त्री हरि ढकालका अनुसार पार्टी विधानले तीनओटै आयोग पहिलो बैठकबाटै गठन गरिसक्नुपर्ने व्यवस्था गरेकाले यस्तो निर्णय गरिएको हो। उनले निर्वाचन र लेखा आयोगको नेतृत्व पुरानै टिमलाई नै जिम्मा दिइएको र अनुशासन आयोगमा मात्र नयाँ नियुक्ति गरिएको जानकारी दिए।

बैठकले हालै सम्पन्न महाधिवेशनलाई सफल बनाउन खटिएका विभिन्न उपसमिति, सुरक्षा निकाय, सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिने निर्णय पनि गरेको छ।

यसका साथै, पार्टीका बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरू मनोनयन गर्ने जिम्मेवारी बैठकले सभापति रवि लामिछानेलाई सुम्पेको छ। सहमहामन्त्री निशा डाँगीका अनुसार रिक्त पदहरूमा मनोनयन गर्ने अधिकार पार्टीले सभापति लामिछानेलाई नै दिइसकेको र उहाँले क्रमशः यो प्रक्रिया अगाडि बढाउने बताइएको छ।