काउली बोकेको ट्रकमा लुकाइएको २ हजार ५६६ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

2566-kilo-ganja-baramad

इनरुवामा तरकारीको आवरणमा गाँजा तस्करी, ८३ बोरा गाँजासहित ट्रक नियन्त्रणमा

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले काउली बोकेको ट्रकमा लुकाएर लैजाँदै गरिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ । प्रहरीले करिब २ हजार ५६६ किलो गाँजासहित चालक र सहचालकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा ट्रक जाँच गर्ने क्रममा गाँजा बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार तरकारी ढुवानी गर्ने सामान्य आवरणमा गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि ट्रकलाई रोकेर जाँच गरिएको थियो ।

प्रहरीले ना ७ ख १८२५ नम्बरको ट्रकबाट ८३ बोरा गाँजा बरामद गरेको हो । ट्रकमा राखिएको काउलीको बीचमा गाँजा लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेको सुनसरी प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको उक्त ट्रक धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राईले चलाएका थिए । प्रहरीले चालक राईसँगै सोही ठाउँका १८ वर्षीय सहचालक सदीप राईलाई पनि पक्राउ गरेको छ ।

गाँजा बरामद भएपछि प्रहरीले ट्रकसमेत नियन्त्रणमा लिएको छ । बरामद गाँजा, ट्रक तथा पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक ओलीले बताए ।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको जनाएको छ । बरामद गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्‍याउने योजना थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार धनकुटालगायत पहाडी जिल्लामा उत्पादन हुने गाँजा तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजान खोजिएको हुन सक्ने देखिएको छ । यद्यपि, गाँजाको वास्तविक स्रोत, गन्तव्य तथा कारोबारमा संलग्न अन्य व्यक्तिका विषयमा अनुसन्धानबाट थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।