७७४ बीवाईडी ईभी नियन्त्रणमा, भन्सार र कर हेरफेरबारे छानबिन सुरु
0 MIN READ
काठमाडौं । नेपाल–चीन सीमा कोरला नाका हुँदै भित्रिएका बीवाईडी ब्रान्डका ७७४ वटा विद्युतीय सवारीसाधन सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार बजेटअघि कर दर परिवर्तनसम्बन्धी सूचना चुहिएको आशंकामा सम्भावित अनियमितता र भन्सार प्रक्रियाबारे थप छानबिन गर्न ती गाडीहरू नियन्त्रणमा लिइएको हो।
बुधबार राति कास्की र मुस्ताङसहित विभिन्न सडक खण्डमा सञ्चालन गरिएको चेकजाँच अभियानका क्रममा नम्बर प्लेटविहीन अवस्थामा विभिन्न जिल्लातर्फ लैजाँदै गरिएका अधिकांश गाडी फेला परेका थिए। नियन्त्रणमा लिइएका सबै सवारीसाधन बीवाईडी ब्रान्डका रहेको र कर संरचना परिवर्तनको सूचना लिक भएको आशंकासँगै भन्सार प्रक्रिया, कर निर्धारण र बजेटअघि भएको आयात गतिविधिमा सम्भावित अनियमितताको अनुसन्धान अघि बढाइएको उनले बताए।
यस विषयमा थप जानकारीका लागि बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसँग सम्पर्क प्रयास भए पनि उनको मोबाइल बन्द रहेको जनाइएको छ। स्रोतका अनुसार बजेटअघि ठूलो मात्रामा सवारीसाधन भित्र्याउन भन्सार कर्मचारी, एजेन्ट र व्यवसायीबीच मिलेमतो भएको हुनसक्ने आशंकामा सरकारी निकायहरू सक्रिय भएका हुन्। सरकारले हालै सार्वजनिक गरेको बजेटमार्फत विद्युतीय सवारीसाधनको कर संरचना परिवर्तन गरेपछि सोही परिवर्तनको फाइदा लिन ठूलो मात्रामा आयात गरिएको हुनसक्ने प्रारम्भिक अनुमानसहित अनुसन्धान अघि बढाइएको छ।