June 1, 2026 0 MIN READ

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङ असन्तुष्ट

0 MIN READ
%e0%a5%ab%e0%a5%a6-%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%9f%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%ac%e0%a4%a2%e0%a5%80-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत प्रयोग गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने सरकारी निर्णयको कडा विरोध गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले विद्युतको प्रयोग बढाउनुपर्ने समयमा कर लगाएर उपभोक्तालाई निरुत्साहित गर्नु गलत नीति भएको बताएका छन्। उनले यस्तो निर्णय स्वच्छ ऊर्जा प्रवर्द्धन, विद्युतीकरण अभियान तथा उपभोक्ताको हितविपरीत रहेको उल्लेख गरेका छन्।

भारतलगायतका देशहरूले विद्युत प्रयोगलाई प्रोत्साहन गरिरहेका बेला नेपालले भने थप करको भार थोपरेर विपरीत दिशा समातेको उनको टिप्पणी छ।

प्रधानमन्त्री र अर्थमन्त्रीले विद्युत पूर्वाधारको क्षमताबारे दिएको अभिव्यक्तिप्रति पनि घिसिङले असहमति जनाएका छन्। सबै घरमा इन्डक्सन चुलो प्रयोग भए विद्युत प्रणालीले धान्न नसक्ने भनाइ तथ्यमा आधारित नभएको उनको दाबी छ।

लोडसेडिङ अन्त्यपछि प्रसारण र वितरण प्रणाली विस्तार तथा स्तरोन्नतिमा ठूलो लगानी भइसकेको उल्लेख गर्दै उनले हाल देशभर पर्याप्त क्षमताका सबस्टेसन, ट्रान्सफर्मर र प्रसारण लाइन सञ्चालनमा रहेको बताएका छन्।

काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली आधुनिकीकरणको अन्तिम चरणमा रहेको भन्दै घिसिङले इन्डक्सन चुलो, हिटर, पानी तताउने उपकरण, विद्युतीय सवारीसाधन र चार्जिङ स्टेसनको प्रयोग बढ्दै गएको अवस्थामा विद्युत खपतलाई करमार्फत निरुत्साहित गर्नु उपयुक्त नहुने बताएका छन्।