संसद् अवरोध प्रकरण छानबिन गर्न समिति गठन
0 MIN READ
काठमाडौं । सभामुख डिपी आर्यालले प्रतिनिधिसभा बैठकमा अव्यवस्था र अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदमाथि कारबाही प्रक्रिया अघि बढाउन छानबिन समिति गठन गरिएको जानकारी दिएका छन्।
सोमबारको बैठकमा सभामुख आर्यालले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा केही सांसदले अव्यवस्था सिर्जना गर्नुका साथै आपत्तिजनक व्यवहार र भौतिक क्षति पुर्याएको विषयमा विस्तृत जानकारी प्राप्त भएको बताए।
घटनाको थप छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारीसहित प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए।
समितिमा संघीय संसद सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्।
सभामुख आर्यालले समितिको प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारे।