बीवाईडीले भन्सार छलेको भन्ने समाचार गलत हुन्, कानुनी प्रक्रिया अनुसार नै गाडी भित्रिएका हुन् : साइमेक्स इंक
0 MIN READ
काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले कानुनी प्रक्रिया पूरा गरेरै विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्र्याइएको स्पष्ट पारेको छ।नेपाल–चीन सीमा नाका कोरला हुँदै ल्याइएका ७७४ वटा बीवाईडी ईभी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि कम्पनीले विज्ञप्ति जारी गर्दै भन्सार छली वा विशेष सुविधा लिएको भन्ने आरोप निराधार रहेको जनाएको हो।साइमेक्स इंकका अनुसार ती सवारीसाधन बजेटअघि नै नेपाल भित्रिएर भन्सार जाँचपास भइसकेका थिए भने थप २२६ वटा सवारीसाधन चीनतर्फको भन्सार क्षेत्रमा रहेका छन्। कम्पनीले सबै आयात तथा भन्सार प्रक्रिया प्रचलित कानुन र नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिएको दाबी गरेको छ।कम्पनीले ग्राहकको पूर्वबुकिङ तथा बढ्दो मागलाई सम्बोधन गर्न नियमित व्यावसायिक योजनाअनुसार सवारीसाधन आयात गरिएको उल्लेख गर्दै कर परिवर्तनबाट बच्न खोजेको वा कुनै अनुचित लाभ लिएको भन्ने आरोप असत्य र प्रतिष्ठामाथि आघात पुर्याउने खालको भएको जनाएको छ।यता सशस्त्र प्रहरी बलका अनुसार विद्युतीय सवारीसाधनमा लाग्ने करको दर परिवर्तनसम्बन्धी सूचना बजेटअघि नै चुहिएको आशंकामा थप छानबिनका लागि गाडीहरू नियन्त्रणमा लिइएको हो। अनुसन्धानबाट भन्सार प्रक्रिया, कर निर्धारण वा बजेटअघिको आयात गतिविधिमा अनियमितता पुष्टि भए सम्बन्धित व्यक्ति तथा निकायमाथि कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले कम्पनीको धारणा विज्ञप्तिमार्फत स्पष्ट पारिसकिएको बताएकी छन्।