June 3, 2026 0 MIN READ

नेपालमा स्टारलिंक सेवा अझै अन्योलमा, अनुमति प्रक्रियामै अड्कियो विस्तार योजना

0 MIN READ
%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%9f%e0%a4%be%e0%a4%b0%e0%a4%b2%e0%a4%bf%e0%a4%82%e0%a4%95-%e0%a4%b8%e0%a5%87%e0%a4%b5%e0%a4%be-%e0%a4%85

काठमाडौं । विश्वव्यापी स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकले नेपालमा सेवा विस्तारका लागि चासो देखाए पनि आवश्यक सरकारी अनुमति नपाउँदा सञ्चालन प्रक्रिया अघि बढ्न सकेको छैन।

कम्पनीकी निर्देशक रेबिका हन्टरले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेट गर्दै नेपालमा सेवा सञ्चालनका लागि आवश्यक लाइसेन्स प्राप्त गर्ने प्रयास जारी रहेको जानकारी दिएकी छन्। उनले कम्पनीको स्वामित्व संरचनासम्बन्धी केही नीतिगत विषय टुंगिन बाँकी रहेको र सम्भावित सहकार्यका लागि नेपाली सेवा प्रदायकहरूसँग पनि संवाद भइरहेको बताइन्।

भेटमा मन्त्री तिमिल्सिनाले नेपालका कानुन तथा दूरसञ्चार नीतिअनुसार प्रक्रिया पूरा गरेपछि विदेशी कम्पनीलाई सेवा सञ्चालनमा समस्या नहुने स्पष्ट पारे।

दुर्गम र हिमाली क्षेत्रमा भरपर्दो इन्टरनेट सेवाको माग बढिरहेका बेला स्टारलिंकको सम्भावित प्रवेशलाई चासोका साथ हेरिएको छ। हाल सगरमाथा क्षेत्रलगायतका स्थानमा सीमित सेवा उपलब्ध भए पनि उच्च हिमाली क्षेत्रमा इन्टरनेट पहुँच अझै चुनौतीपूर्ण रहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नलिएका स्याटेलाइट इन्टरनेट सेवाको प्रयोग गैरकानुनी रहेको बताउँदै आएको छ। यस्तो अवस्थामा स्टारलिंकले नेपालमा औपचारिक रूपमा सेवा सुरु गर्न नियामकीय स्वीकृति प्राप्त गर्नुपर्नेछ।