June 1, 2026 0 MIN READ

कर्णाली छोरी सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी

0 MIN READ
%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80-%e0%a4%9b%e0%a5%8b%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%a8-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d

सुर्खेत । ‘कर्णाली छोरी सम्मेलन’को दोस्रो संस्करण १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। श्री ज्योति फाउन्डेसनको आयोजनामा तथा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा आयोजित सम्मेलनले बालविवाह, लैङ्गिक विभेद, छाउपडी, महिला हिंसा तथा महिनावारीसँग जोडिएका विभेदकारी अभ्यास अन्त्य गर्न सरकारसँग ठोस रणनीति र कार्ययोजना लागू गर्न माग गरेको छ।

घोषणापत्रमार्फत सम्मेलनले मर्यादित महिनावारी सुनिश्चित गर्न संघ, प्रदेश र स्थानीय तहका कानुनहरूको प्रभावकारी कार्यान्वयन, विद्यालय तथा समुदायमा महिनावारी आराम कक्ष स्थापना र आवश्यक स्वच्छता सामग्रीको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

त्यस्तै, छोरीहरूको उच्च शिक्षाका लागि विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन, विद्यालयमा गुणस्तरीय तथा समावेशी पूर्वाधार निर्माण, प्रविधिको दुरुपयोगबाट हुने हिंसा नियन्त्रण तथा किशोर–किशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको विस्तार गर्न माग गरिएको छ। जाजरकोट भूकम्पबाट क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माण र खेलकुद तथा अतिरिक्त क्रियाकलापमा छोरीहरूको सहभागिता बढाउन पनि सम्मेलनले जोड दिएको छ।

कर्णालीका ७९ वटै स्थानीय तह तथा राउटे, राजी, कुसुण्डा, बादी र बोटेजस्ता लोपोन्मुख तथा सीमान्तकृत समुदायका करिब २५० बालिकाको सहभागिता रहेको सम्मेलनमा छोरीहरूले शिक्षा, स्वास्थ्य, अवसर र आधारभूत अधिकारमा अझै पनि विभेद भोग्नुपरेको अनुभव साझा गरेका थिए।

सम्मेलनमा सहभागीहरूले बालविवाह, लैङ्गिक असमानता र सामाजिक कुप्रथाले कर्णालीका छोरीहरूको भविष्य प्रभावित बनाइरहेको निष्कर्ष निकाल्दै छोरी सशक्तीकरणका लागि बनेका नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।